Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

ICT Summer Bootcamp 2081 Opening Ceremony

News & Events Image

Published by: admin

2024-08-28

आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा आज २०८१ साउन २७ गते आइतबार बिहान क्याम्पसमा समर बुट क्याम्प सुरु भएको छ। यस बुट क्याम्प क्याम्पस र बिआइसिटी कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीहरूको साझा संस्था एबिआइटी क्लबको संयुक्त आयोजनामा भएको हो। उक्त क्याम्पको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, मकवानपुर बहुमुखी क्याम्पस हेटौडाका क्याम्पस प्रमुख यमबहादुर सिलवाल र वालिङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख युवराज पाठकले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
यस बुट क्याम्पमा रोबोटिक्स र आइओटी विषय अन्तर्गतको पिविसी डिजाइनिङ सम्बन्धमा विद्यार्थीहरूले व्यवहारिक ज्ञान र सीप हासिल गर्नेछन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बिआइसिटि कार्यक्रमको पाठ्यक्रममा छुटेका तर म तर व्यवहारिक ज्ञानका लागि अत्यावश्यक विषयहरूमा विद्यार्थीहरूलाई योग्यर क्षमतावान बनाउन क्याम्पसले यस्ता बुट क्याम्पहरूको हरेक वर्ष आयोजना गर्दै आइरहेको छ।
यस वर्ष आयोजना गरेको यो दोस्रो बुट क्याम्प हो।
यस्तो बुट क्याम्पमा विद्यार्थीहरूलाई एउटा कार्यशाला भित्र राखेर उनीहरूलाई विषय विज्ञबाट सैद्धान्तिक व्यावहारिक ज्ञान सिकाउने र अभ्यासको पर्याप्त अवसर प्रदान गर्ने गरिन्छ।
उक्त बुट क्याम्पको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले आइटीका क्षेत्रमा आदिकवि भानुभक्त क्याम्पसले विद्यार्थीहरूको कम्प्युटर सिप विकासमा ठूलो लगानी गर्दै आएको र क्याम्पस सञ्चालक समिति विआईसिटिई अध्ययन गर्ने विद्यार्थीको दक्षता अभिवृद्धिका लागि थप आर्थिक स्रोतको परिचालनका लागि सकारात्मक रहेको बताउनुभएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि तथा मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सिलवालले सूचना र प्रविधिका क्षेत्रमा त्रिभुवन विश्वविद्यालयबाट सञ्चालितउच्च शिक्षाका कार्यक्रमहरूमध्ये बिआइसिटीई कार्यक्रम एक आकर्षणको रहेको यसको पाठ्यक्रमले बिआइसिटीइ अध्ययन गर्ने विद्यार्थीहरुले सैद्धान्तिक र व्यवहारिक ज्ञान र अभ्यास गर्ने पर्याप्त अवसर प्राप्त गर्ने हुँदा यो विषय सबैको रोजाइमा परेको बताउनुभएको थियो।
सहभागीलाई स्वागत गर्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सीमित स्रोत र साधनका कारण सामुदायिक क्याम्पसहरूले एकआपसबाट सिक्ने र एकआपसका स्रोत र साधन परिचालन गरी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति अवलम्बन गर्नुपर्ने आजको आवश्यकता रहेको हुँदा आदिकवि भानुभक्त क्याम्पसले यस बुट क्याम्पमा आफूसँग सहकार्यको सम्झौता भएका बागमती र गण्डकी प्रदेशका बिआइसिटी कार्यक्रम सञ्चालन भएका क्याम्पसहरूका विद्यार्थी र शिक्षकहरुलाई बुट क्याम्पमा सहभागी हुने अवसर प्रदान गरेको बताउनुभएको थियो।
सो अवसरमा बोल्दै वालिङ क्याम्पसका क्याम्पस प्रमुख युवराज पाठकले सूचना प्रविधिको युगमा काठमाडौँ भन्दा बाहिरी क्षेत्रमा रहेका क्याम्पसहरुले सञ्चालन गरेको बिआइसिटीई कार्यक्रममा समुदायका विद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रविधिको समनुकूल ज्ञान र सीप प्रदान गर्न त्रिविको बिआइसिटी कार्यक्रमले महत्वपूर्ण अवसर प्रदान गर्दै आइरहेको र बुट क्याम्पले बिआइसिटीई कार्यक्रमलाई विद्यार्थीहरूको माझ लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो ।
क्याम्पको उद्घाटन कार्यक्रम एबिआइटी क्लबका अध्यक्ष विशाल रुचालको अध्यक्षतामा भएको थियो। कार्यक्रममा एबिआइटी क्लबका उपाध्यक्ष निहा शाहीले स्वागत मन्तव्य दिनुभएको थियो भने स्वतन्त्र विद्यार्थी युनियनका सचिव अनुप आलेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन एबिआइटी क्लबका सचिव संगम पौडेलले गर्नुभएको थियो।
उद्घाटन कार्यक्रमको अन्त्यमा क्याम्पस र एबीआइटी क्लबका तर्फबाट क्याम्पमा आमन्त्रित क्याम्पसहरूलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो। उक्त क्याम्पमा दमौली स्थित विभिन्न १० वित्तीय तथा व्यापारिक र शैक्षिक संघसंस्थाहरूले आर्थिक सहायता तथा वस्तुगत सौजन्य गरेका छन्।
उक्त अवसरमा आदिकवि भानुभक्त क्याम्पससञ्चालक समितिका सदस्य एवं आर्थिक समितिका संयोजक गोपाल सुर्खाली, क्याम्पसका सहायक क्याम्पस प्रमुखहरू डा. रामकुमार अधिकारी र सागर, मानविकी तथा समाजशास्त्र विभागका प्रमुख बिमल गिरी, बिआइसिटीई कार्यक्रमका प्रमुख ई. घनबहादुर थापा, मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख उत्तम अर्याल र बिआइसिटी कार्यक्रमका प्रमुख इन्द्र सापकोटा, म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पशुपति ढकाल, नीलकण्ठ बहुमुखी क्याम्पसका आइसिटी प्राध्यापक प्रकाश श्रेष्ठ र वालिङ क्याम्पसका आइसिटी प्राध्यापक अमृत पराजुली, र नेपाट्रोनिक्सका विज्ञ तथा क्याम्पका सहजकर्ताहरूहरू राजु श्रेष्ठ र मिलन पोखरेल समेतको उपस्थिति रहेको थियो।
यस बुट क्याम्पमा आदिकवि भानुभक्त क्याम्पस, तनहुँ, बालकुमारी कलेज, चितवन, मध्यबिन्दु बहुमुखी क्याम्पस नवलपुर, मकवानपुर बहुमुखी क्याम्पस, हेटौडा, म्याग्दी बहुमुखी क्याम्पस, म्याग्दी, नीलकण्ठ बहुमुखी क्याम्पस धादिङ र वालिङ बहुमुखी क्याम्पस, स्याङ्जा का गरी ६ ओटा क्याम्पसका विआईइसिटिई कर्यक्रममा अध्ययनरत १५० जना विद्यार्थीहरुको सहभगीता रहेको छ । क्याम्प २०८१ साउन २७ गते देखी २०८१ भदौ २ गतेसम्म सञ्चालन हुनेछ ।
क्याम्पमा नेपाट्रोनिक्स काठमाडौँका विज्ञहरूले सहभागी विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र सिप सिकाउनेछन्। क्याम्पमा विद्यार्थीहरूले अफिस तथा घरहरूमा प्रयोग हुने झ्यालढोका पङ्खा बिजुली टिभी सवारी साधन आदिलाई स्वचालित बनाउन प्रयोग हुने अटोमेटिक डिभाइसहरू निर्माण गर्नका लागि तालिम लिनेछन्। क्याम्पसले त्यस्ता डिभाइसहरू निर्माणको परियोजना सुरु गर्न लागेका विद्यार्थीहरूलाई व्यावसायिक प्रोत्साहनका लागि हयोग पुर्याउने उद्देश्यले लागि बिउ पुँजीको पनि व्यवस्था मिलाउने छ। नेपालमा त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा सञ्चालन गरेको विभिन्न सूचना प्रविधिका कार्यक्रमहरूमध्ये सबैभन्दा सुलभ र सबैभन्दा उपयोगी कार्यक्रमको रूपमा बिआइसिटी कार्यक्रमलाई लिने गरिन्छ। कार्यक्रमको अध्ययन गरे पछि विद्यार्थीहरु कम्प्युटरका सफ्टवेयर र हार्डवेयर डिजाइनिङ्ग गर्न, सरकारी कार्यालय तथा विद्यालयहरूमा कम्प्युटर अधिकृतको रुपमा कार्य गर्न, आइटीका स्नातकोत्तर तहका कार्यक्रमहरूमा भर्ना भई अध्ययन गर्न, कम्प्युटरको सक्रियता हार्डवेर सम्बन्धी डेभलपर भएर आत्मनिर्भर व्यवसायी बन्न दक्ष हुने गर्दछन्। विषयलाई रोजगारमूलक विषयको रुपमा लिने गर्दछ। यो विषय बिहानी सत्रमा पढाइ हुने हुँदा काम गर्दै पढ्न पाउने सुविधा पनि उपलब्ध छ। यस विषयमा क्याम्पसले पर्याप्त छात्रवृत्ति र छात्रावास सुविधाको व्यवस्था पनि मिलाएको छ । क्याम्पसले चार वर्षको कुल तीन लाख २० हजारमा एक कोर्स पढ्ने व्यवस्था मिलाएको छ। गोर्खा लमजुङ तनहुमा मात्र आदिकवि भानुभक्त क्याम्पसमा अध्यापन हुने गर्छ। हाल क्याम्पसले यस कार्यक्रममा ३६ जना विद्यार्थीहरू भर्ना गर्न पाउने अधिकार राख्दछ।
यो विषय बिहानी सत्रमा पढाइ हुने हुँदा काम गर्दै पढ्न पाउने सुविधा पनि उपलब्ध छ। यस विषयमा क्याम्पसले पर्याप्त छात्रवृत्ति र छात्रावास सुविधाको व्यवस्था पनि मिलाएको छ । क्याम्पसले चार वर्षको कुल ३ लाख २० हजारमा यस कोर्स पढ्ने व्यवस्था मिलाएको छ।
गोर्खा लमजुङ र तनहुँ जिल्लामा आदिकवि भानुभक्त क्याम्पसमा मात्रै बिआइसिटिइको अध्ययन अध्यापन हुने गर्छ। आदिकवि भानुभक्त क्याम्पसले यस कार्यक्रममा प्रति सेमेस्टर ३६ जना विद्यार्थीहरू मात्र भर्ना गर्न पाउने अधिकार राख्दछ।