Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

लेखापढी सिपविकास विषयको शुभारम्भ 

News & Events Image

Published by: admin

2024-06-05

आदिकवि भानुभक्त क्याम्पसमा लेखापढी सिपविकास विषयको एक कार्यक्रमका बिच शुभारम्भ भएको छ । बजारको माग सुहाउँदो विषय निर्माण गरी पूरक पाठ्यक्रम शिक्षण गर्ने सन्दर्भमा क्याम्पसले नेपाली शिक्षा विषय लिएका विद्यार्थीहरूलाई लेखापढी सिप विकास विषयलाई अतिरिक्त विषयका रूपमा प्रस्तुत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तनहुँ जिल्लाका माननीय जिल्ला न्यायाधीस कमलराज विष्टले सङ्घीयताको कार्यान्वयनको सन्दर्भमा अब झनै गाउँ पालिका र नगरपालिकामा लेखापढी गर्ने जनशक्तिको खाँचो पर्ने बताउँदै क्याम्पसले लेखापढी सिप विकास विषयलाई शिक्षण गर्न लागेकोमा प्रसन्नता व्यक्त गर्नु भयो । वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले आफू आदिकवि भानुभक्त क्याम्पसमा लामो समयसम्म प्राध्यापन गर्दाको क्षण स्मरण गर्दै लेखापढी सिप विकास कार्यक्रमले विद्यार्थीहरूलाई कानुनी ज्ञान दिने र व्यावसायिक रूपमा स्वावलम्बी बनाउने दिशामा अत्यन्त सकारात्मक कदम भएको बताउनु भयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले विद्यार्थीहरूको प्रतिभालाई अझ विकसित गर्न लेखापढी सिप विकास कार्यक्रमले अझ प्रभावकारी भूमिका खेल्ने बताउनु भयो । जिल्ला बार एशोसियसनका अध्यक्ष डम्बरदेव हड्खले एवं लेखापढी सङ्घका जिल्ला अध्यक्ष सरयू पौडलले लेखापढी सिप विकास विषयको अध्यापन गर्दा क्याम्पसलाई विभिन्न पक्षमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जलवायु परिवर्तन विषयमा २५ जना विद्यार्थीले अतिरिक्त विषयको अध्ययन गरिरहेको जानकारी दिनु हुँदै अब नेपाली विषयमा समेत विद्यार्थीहरूका लागि सस्तो सुलभ शुल्कमा अतिरिक्त विषयको पढाइ हुन लागिरहेको जानकारी गराउनु भयो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा.रामकुमार अधिकारीले लेखापढी सिप विकास कार्यक्रमको पाठ्यक्रमको पूर्ण विवरण प्रस्तुत गर्नु भएको थियो । सभापतिको आसनबाट बोल्दै नेपाली विभागका प्रमुख डा. सुशीलप्रसाद वाग्लेले कानुनी ज्ञानले जीवनमा आत्मविश्वासपूर्वक अगाडि बढ्न र आत्मअनुशासन राख्न मद्दत गर्ने बताउँदै पूरक पाठ्यक्रमको शिक्षण आदिकवि भानुभक्त क्याम्पसलाई मानक विश्वविद्यालय बनाउने दिशामा चालिएको पाइलो भन्नु भयो । कार्यक्रममा सहायक प्राध्यापक नारायणी अधिकारीले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख सागर पौडेल, सहायक प्राध्यापक अस्मिता घिमिरेको समुपस्थिति रहेको कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक मीना श्रेष्ठले गर्नु भएको थियो ।