Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

गणितको शैक्षिक सामग्री निर्माण कार्यशाला सम्पन्न

News & Events Image

Published by: admin

2024-06-18

आदिकवि भानुभक्त क्याम्पसको शिक्षाशास्त्र विभाग र क्याम्पसमा गणित विषय अध्ययनरत विद्यार्थीहरूको साझा संस्था एविसि गणित विद्यार्थी सर्कलको संयुक्त आयोजनामा आज २०८१ असार १ गते क्याम्पस सभा कक्षमा आयोजना भएको गणितको शैक्षिक सामग्री निर्माण कार्यशाला सम्पन्न भएको छ। कार्यशालाको क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि वाग्लेले नेपालका विश्वविद्यालय र क्याम्पसहरूमा गणित विषयको अध्ययन गर्ने विद्यार्थीहरूको घट्दो संख्याले गणित विषय शिक्षकको जनशक्तिको निकट भविष्यमा हुने चरम अभावलाई संकेत गर्ने बताउँदै क्याम्पसले विद्यालय स्तरमा गणितको अध्ययनलाई सहज र गुणस्तरीय बनाउन आफ्नो विद्यार्थीहरूका माझ महत्त्वका साथ तालिमका कार्यक्रमहरू अगाडि ल्याउनुपर्ने र क्याम्पसले आफ्ना गणित विषयका विद्यार्थीहरूलाई आयोजना गरेको र भविष्यमा गर्ने यस्ता तालिमले भावीदिनहरूमा गणितका शिक्षक उत्पादन गर्ने र समुदायमा गणित विषयको अध्ययनमा आकर्षण थप्ने बताउनुभएको थियो।
कार्याशालाको समापन कार्यक्रममा व्यास नगर उपप्रमुख ईन्दिरा दरैले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै नगरको शिक्षामा रुपान्तरण ल्याउन क्याम्पस र नगर विच सहकार्य जरुरी रहेको बताउनु भएको थियो।
कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष खर सिं दरैले विद्यार्थीहरूको ज्ञान सिप क्षमता अभिवृद्धिका लागि क्याम्पस सञ्चालक समितिले स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउनुभएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखले र स्वतन्त्र विद्यार्थी युनियनका सचिव अनुप आलेले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यशाला आयोजना गर्नुको उद्देश्य र औचित्यको बारेमा सहायक प्राध्यापक अनिल श्रेष्ठले बोल्नुभएको थियो।
उक्त उद्घाटन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य मोहन गिरी, आदिकवि भानुभक्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुङ्गाना, सहायक क्याम्पस प्रमुख सहप्राध्यापक डा. रामकुमार अधिकारी क्याम्पसको गुणस्तर सुनिश्चितता समितिका प्रमुख उपप्राध्यापक विश्वेश्वर तिमल्सेना, नेपाल पब्लिक क्याम्पस प्राध्यापक सङ्घ गण्डकीका अध्यक्ष सहायक प्राध्यापक बिमल गिरी, गणित शिक्षक परिषद् तनहुँ अध्यक्ष सहायक प्राध्यापक नरेन्द्रराज न्यौपानेको उपस्थिति रहेको थियो ।
कार्यशालाको उद्घाटन कार्यक्रम क्याम्पसको शिक्षाशास्त्र विभागका प्रमुख सहायक प्राध्यापक गजेन्द्र पौडेलको अध्यक्षतामा भएको थियो भने समापन कार्यक्रम एविसि गणित विद्यार्थी सर्कलका अध्यक्ष बर्षा गुरुङको अध्यक्षतामा भएको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक गोपाल ढुंगानाले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत अतिथि र सहभागीहरूलाई एबीसी गणित विद्यार्थी समाजका अध्यक्ष वर्षा गुरुङले स्वागत गर्नुभएको थियो।
प्राध्यापक, क्याम्पसको कर्मचारी सङ्घका अध्यक्ष लेखा अधिकृत विष्णुप्रसाद रिजाल लगायत कर्मचारी, क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन एवं विद्यार्थी क्लबका पदाधिकारी तथा सदस्य र गणित विषय अध्ययन गर्ने विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यशाला बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सुचारु रहनेछ। सो कार्यशालामा सहभागी विद्यार्थीहरूले विद्यालय स्तरमा कक्षागत रुपमा गणित विषय अध्ययन अध्यापनमा प्रयोग गरिने शैक्षिक सामग्रीहरूका किसिम र त्यसको निर्माणको विधि, ती सामग्रीहरूको उपयोगिता र त्यसको निर्माणमा प्रयोग हुने स्थानीय कच्चा पदार्थका बारेमा प्रयोगात्मक शैलीमा अवधारणा, ज्ञान र सीप सिकाइनेछ।
विद्यार्थीहरूले तयार गरेको शैक्षिक सामग्रीलाई आगामी दिनमा विद्यालय शिक्षामा उपयोग गर्न विद्यालयहरूलाई उपलब्ध गराउने व्यवस्था क्याम्पसले मिलाउने भएको छ।
हाल गण्डकी प्रदेशका आधा दर्जनभन्दा पनि कम सङ्ख्या क्याम्पसहरूमा पाँच दर्जनभन्दा पनि कम विद्यार्थीहरू स्नातक तहमा गणित विषयको अध्ययन गर्दै आइरहेका छन् ।
क्याम्पसले विद्यार्थीहरूमा गणित विषयको अध्ययन अध्यापन सीपमा निखार ल्याउन गणित विषयको शैक्षिक सामग्री निर्माणका लागि वर्षमा ४ वटा यस्ता कार्यशालाहरू सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ ।
यस कार्यशालाले स्नातक तहमा गणित विषय अध्ययनरत विद्यार्थीहरूलाई गणितका शैक्षिक सामग्रीको निर्माण र प्रयोगमा काबिल बनाउने लक्ष्य राखेको छ। कार्यशाला विद्यार्थी र क्याम्पसको संयुक्त लगानीमा सञ्चालन भएको हो।
कार्यशालामा ४५ जना विद्यार्थी र ५ जना गणित विषयका प्राध्यापकहरूको सहभागिता रहेको छ। कार्यशालामा क्याम्पसका प्राध्यापकहरूले शैक्षिक सामग्री निर्माणको सहजीकरण गर्नुहुनेछ। कार्यशालामा विद्यार्थीहरूलाई १० समूहमा विभाजन गरिएको छ। यस कार्यशालामा आदिकवि भानुभक्त माध्यमिक विद्यालयका कक्षा १० का पाँच विद्यार्थीहरू पनि सहभागी रहेका छन्।