Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

दुई दिवसीय विजनेस अर्थशास्त्र विषयको राष्ट्रिय गोष्ठी

News & Events Image

Published by: admin

2024-05-25

आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा २०८१ जेष्ठ ११ र १२ गते गरी दुई दिवसीय विजनेस अर्थशास्त्र विषयको पेडागोजी एण्ड इभ्यालुएसन सिस्टम अफ बिजनेस इकोनोमिक्स एण्ड प्यानल डाटा यनालाइसिस यूजिङ स्टाटा विषयक राष्ट्रिय गोष्ठी शनिबार दिउँसो क्याम्पसमा सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोग, सानोठिमी,भक्तपुर र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको सहयोग र आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा भएको सो गोष्ठीको क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवं नेपाल पब्लिक क्याम्पस संघका पूर्व केन्द्रीय अध्यक्ष तथा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शुक्रबार बिहान उद्घाटन गर्नुभएको । सो गोष्ठिमा देशभरका ४० जना विषयगत प्राध्यापक र क्याम्पसका ६ जना बिबिए कार्यक्रममा अध्ययनरत विद्यार्थीहरू सहभागि रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै प्रमुख न्यौपानेले सामुदायिक क्याम्पसहरुको शैक्षिक स्तर उन्नति ति क्याम्पसमा अध्यापनरत प्राध्यापकहरूको विषयगत व्यावसायिक दक्षता वृद्धिमा निर्भर रहने हुँदा गोष्ठीमा सहभागी प्राध्यापकहरूले बिजनेस इकोनोमिक्सको पाठ्यक्रम र मूल्याङ्कनको ज्ञान र शिक्षण सीपमा निखार ल्याउन र शोध तथा अनुसन्धानका कार्यमा ध्यान केन्द्रित गर्न सुझाव दिनुभएको थियो। कार्यशाला गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता गर्नुभएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले सामुदायिक क्याम्पसहरूले अस्तित्वको चुनौती झेलिरहेको यस संकटपूर्ण समयमा आपसी सहकार्यलाई महत्वका साथ अगाडि बढाउन अति जरुरी भएको बताउनुभएको थियो। त्यस अवसरमा सहभागीहरूलाई क्याम्पस प्रमुख महाप्रसाद हडखलेले स्वागत गर्नुभएको थियो। गोष्ठीको अपेक्षित उद्देश्यका बारेमा उपप्राध्यापक जनक काफ्लेले बोल्नुभएको थियो।
गोष्ठीमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको बिजनेस इकोनोमिक्स विषय समितिका अध्यक्ष सहप्राध्यापक ज्ञानमणि अधिकारी, विश्वविद्यालय केन्द्रीय क्याम्पसका बिजनेस इकोनोमिक्स विषयका उपप्राध्यापक नवीन अधिकारी र पद्मकन्या क्याम्पस काठमाडौँका बिबिए कार्यक्रम प्रमुख राजेश क्षेत्रीले विषय विज्ञको रुपमा सहजीकरण गर्नुभएको थियो। सहभागीहरूलाई बिजनेस इकोनोमिक्स विषयको पाठ्यक्रम, अपेक्षित उद्देश्य र उपलब्धि, प्रभावकारी शिक्षण विधि, कला र मूल्याङ्कन प्रणाली, शोध तथा अनुसन्धानमा स्टाटा सफ्टवेयरको प्रयोग गरेर गरिने प्यानल डाटा एनालिसिसको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान बारे सहजीकरण गरिएको थियो।
कार्यशाला गोष्ठीको अन्त्यमा शनिबार दिउँसो आयोजित समापन समारोहमा बोल्दै प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले गोष्ठीको सिकाइलाई सहभागीहरूले आफ्नो कार्यक्षेत्रमा पुगेर व्यवहारमा उतार्न अनुरोध गर्नुभएको थियो। समापन समारोहको अध्यक्षता क्याम्पस प्रमुख हडखलेले गर्नुभएको थियो। उद्घाटन तथा समापन कार्यक्रमको सञ्चालन क्याम्पसको व्यवस्थापन विभागका प्रमुख उपप्राध्यापक रामभक्त घिमिरेले गर्नुभएको थियो। सो अवसरमा सहभागीहरूले कार्यशाला गोष्ठीको बारेमा पृष्ठपोषण प्रस्तुत गरेका थिए । कार्यक्रममा स्टेसरी सौजन्य गर्नुहुने केइसी पब्लिकेसन र बुद्ध पब्लिकेसन काठमाडौँलाई प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो । विज्ञहरूलाई मायाको चिनो र सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरि गोष्ठीको समापन गरिएको थियो।