Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रम

News & Events Image

Published by: admin

2023-08-28

आदिकवि भानुभक्त क्याम्पसमा सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रम शनिबार बिहान सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री बुद्धिमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि बैकुण्ठ न्यौपानेले क्याम्पसले अहिलेसम्म हासिल गरेको उचाइ उत्साहप्रद रहेको र समाजको आवश्यकतालाई परिपूर्ति गर्ने गरी क्याम्पसले थप नयाँ उच्च शिक्षाका प्राविधिक धारका कार्यक्रमहरु सञ्चालन गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभएको थियो । सो अबसरमा क्याम्पसको ४ तले मुल भवनमा शारिरिक रुपमा फरक क्षमता भएका र स्वास्थ्यमा समस्या भएका विद्यार्थी, प्राध्यापक, कर्मचारी, सञ्चालक समिति र सरोकारवालाहरुका लागी भर्याङ्गमा तल माथि गर्न समस्या भएकाले ब्यास नगर पालिकाले लिफ्ट जडान गर्न क्याम्पसले प्रस्ताव पेश गरेमा आर्थीक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो। उक्त कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका पूर्व उपाध्यक्ष एवं म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले क्याम्पसले गरेका प्रगतिहरुको जगमा टेकेर उच्च शिक्षामा प्राविधिक धारका थप विषयहरूको पठनपाठन शुरु गर्नका लागि पूर्वाधार निर्माण गर्न स्थानीय निकाय, प्रदेश र सङ्घको स्रोत र साधनको संयोजन गर्ने अभियानमा ढिलाइ गर्न नहुने सुझाव दिनुभएको थियो । साथै उहाँले यस वर्ष आदिकवि भानुभक्त क्याम्पसमा अध्यन गर्ने म्याग्दे गा. पा. निवासी विद्यार्थीहरुलाई अध्ययनमा सहज होस् भनेर रु ३ लाख रुपियाँको छात्रवृति रकम विनियोजन गरिएको खुलासा गर्दै आगमी दिनमा विधार्थीको अध्ययनमा सहजता ल्याउन क्याम्पसलाई थप सहयोग आवश्यक परेमा गापाले दिने सहयोग रकम बढाउन सकिने बताउनुभएको थियो । सो अवसरमा अन्तरक्रिया कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको वर्तमान अवस्था, क्याम्पसको उपलब्धि र चुनौतीहरुका बारेमा बोल्नुभएको थियो । क्याम्पसले हाल करिव ३२ सय विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएको र क्याम्पसमा  संख्यामा करिब १७ प्रतिशत दलित, ७२ प्रतिशत जनजाति ९० प्रतिशत ग्रामीण भेगका विद्यार्थी र ८९ प्रतिशत छात्रा विद्यार्थीहरु अध्ययन गर्दै आएको जानकारी गराउनुभएको थियो । क्याम्पसमा सेमेस्टर प्रणाली तर्फको स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमको उत्तीर्ण दर ९८ प्रतिशत रहेको र वार्षिक प्रणालीमा क्याम्पसको विद्यार्थीको उत्तिण दर ६८ प्रतिशत रहेको छ । क्याम्पसले यसै वर्ष विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरमा प्रत्यायनकृत हुन सफल भएको छ । यस वर्ष  त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकाय अन्तर्गत क्याम्पसका बिद्यार्थी संदेश अधिकारीले नेपाल प्रथम हुन सफल भएको छन । सो अवसरमा हाल क्याम्पसमा अध्ययन अध्ययापन भइरहेको विविए र विआइसिटिई कार्यक्रममा विधार्थी भर्ना, नातिजा, छात्रावृत्ति, परामर्श र रोजगारको अवस्थाका बारेमा कमशः आइक्यूएसि प्रमुख विश्वेश्वर तिमल्सेना र विआइसिटि प्रमुख ई. घन बहादुर थापाले पावर प्वाइन्ट प्रस्तुति दिनु भएको थियो । अन्तरक्रियामा बोल्दै नेपाल उद्योग वाणिज्य संघ  केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले स्थानीय क्षेत्रमा रोजगारी सुनिश्चित गर्न सकेमात्र विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्न आदिकवि भानुभक्त क्याम्पसलाई केन्द्र बनाउन सकिने हुँदा स्थानीय तह र उद्योग वाणिज्य क्षेत्रसँग सम्बद्ध संघ संस्थाहरुसँग  समान्य गरेर युवाहरूलाई अवसरहरु सिर्जना गर्नुपर्ने राय व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रजातन्त्रवादी कानुन व्यवसायी सङ्घका केन्द्रीय सदस्य विष्णु खनाल, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, सञ्चालक समिति सदस्य सरिता थापा भण्डारी, नेपाल बैंक लिमिटेड दमौली शाखा प्रमुख कल्पना सुनार, सत्यवती माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पकला भट्टराई, पब्लिक क्याम्पस प्राध्यपक संघ, नेपालका क्याम्पस इकाई अध्यक्ष विजयराज खनाल, क्याम्पसको आमन्त्रित सदस्य एवं विद्यालय ब्यावस्थापन समिति महासंघ तनहुँका अध्यक्ष विष्णुभक्त न्यौपाने, विज्ञानचौर टोल विकास संस्थाका अध्यक्ष भरत पन्थ, मोहोरियाटार टोल बिकास संस्थाका अध्यक्ष श्रीकृष्ण पन्थ, स्ववियू सचिव अनुप थापा मगर लगायतले अन्तरक्रियामा विचार राख्नुभएको थियो राख्नुभएको  । कार्यक्रममा सहभागी हरुलाई क्याम्पस प्रमुख डा. राम कुमार अधिकारीले स्वागत गर्नुभएको थियो भने सहायक क्याम्पस प्रमुख सागर पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्याम्पसको आन्तरिक गुणस्तर मुल्यांकन समितिका प्रमुख विशेश्वर तिमल्सेनाले गर्नुभएको थियो । उक्त अन्तरक्रियामा क्याम्पस संचालक समिति, स्थानीय तहका जनप्रतिनिधिहरु,  छात्रवृत्ति कोष संस्थापक, जग्गादाता, अक्षयकोषको संस्थापक, क्याम्पस परिषद एवं साधारण सभा सदस्यहरु, आमा समूह, स्थानिय युवा क्लव, क्याम्पसका सरकारवाला एवं शुभेच्छुक सरकारी, गैरसरकारी एवं सामुदायिक संस्थाहरुका पदाधिकारी प्रतिनिधिहरु, बिभागीय प्रमुखहरु, प्राध्यापक, कर्मचारीहरु, स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी क्लबहरुका पदाधिकारी सदस्यहरुको उपस्थित रहेको थियो ।