Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

रामायण वाचन प्रतियोगिता सम्पन्न

News & Events Image

Published by: admin

2024-07-14

आदिकवि भानुभक्त क्याम्पसमा रामायण वाचन प्रतियोगिता सम्पन्न
आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्म जयन्तीका अवसरमा शनिवार दिउसो आदिकविकै नाममा स्थापित दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा सदा झै यस वर्ष पनि रामायण वाचन प्रतियोगिताको आयोजना गरियो । विभिन्न विद्यालयका १४ जना विद्यार्थीहरूले भाग लिएको उक्त प्रतियोगितामा शुक्ला मा.वि. ऋषिङ १ की मन्जिता थापा प्रथम, गोगन मा.वि. कस्कि, पोखराकी सुजाता पौडेल द्वितीय, आदिकवि भानुभक्त विद्यालय व्यास – १ का सचिन बस्नेत तृतीय र निर्मल मा.वि. व्यास – १ का दिपेश पन्थ सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएकाछन् ।
उक्त कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले आदिकविकै नाममा स्थापित आदिकवि भानुभक्त क्याम्पसमा हरेक साल आयोजना हुने रामायण वाचन प्रतियोगिताले भानुभक्तका रामायणको मात्र वाचन हुने नभई रामायणमा वर्णन गरिएको आदर्श समाजको समेत प्रेरणादायी स्मरण हुने बताउनु भयो ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले भानुभक्तको रामायण केवल साहित्य मात्र नभएर समस्त नेपालीलाई जोड्ने मानक आधार बन्न गएको बताउँदै आफ्ना बाजे बराजुहरू काशीमा देहत्याग गरेको इतिहास हुँदा हुँदै सतिघाटमा देहत्याग गर्ने भानुभक्तभित्र रहेको आफ्नो देशको माटोप्रतिको माया साँच्चै अनुकरणीय रहेको बताउनु भयो । क्याम्पस प्रमुख हड्खलेले साहित्यकार स्व. कमलमणि दीक्षितले प्रारम्भ गरिदिनु भएको रामायण वाचन प्रतियोगितालाई निरन्तरता दिन पाउँदा प्रसन्नता व्यक्त गर्नु भयो ।
कार्यक्रममा गीतकार सागर उदासले बर्मामा रहेका नेपालीहरूको प्रत्येकको घरमा भानुभक्तीय रामायणलाई धर्मग्रन्थकै सम्मान दिएर राखिएको बताउनु भयो ।
उक्त कार्यक्रममा आदिकवि भानुभक्त माध्यमिक विद्यालय व्यवस्थाप समितिका संयोजक ऋषिराम ढुङ्गानाले रामायण वाचनमा भाग लिन आएका सहभागीहरूको उत्साह वास्तवमै प्रेरणादायी रहेको बताउनु भयो ।
क्याम्पसका नेपाली विभागका प्रमुख डा.सुशीलप्रसाद वाग्लेले सभापतिको आसनबाट बोल्दै भानुभक्तको रामायणमा लय र भावको मीठो संयोजन पाइने भन्दै यो महाकाव्य न्याय वेदान्त योग लगायत ६ ओटै आस्तिक दर्शनको प्रयोग भएको दार्शनिक महाकाव्य समेत हो भन्नु भयो ।
नेपाली विभागका सदस्य सहायक प्राध्यापक विष्णु घिमिरेले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रम विभागकै सदस्य सहायक प्राध्यापक नारायणी अधिकारीले गर्नुभएको थियो ।
शिक्षकहरु छविराम दरै, कमला पौडेल र दिव्या पौडेल वाचन प्रतियोगिताको निर्णायक मण्डल रहनुभएको उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख सागर पौडेल, आइ क्यू ए सी प्रमुख विश्वेश्वर तिमल्सेना, आदिकवि भानुभक्त माध्यमिक विद्यालयका संयोजक चिरञ्जीवी बस्नेत, मानविकी विभाग प्रमुख, विमल गिरि, बि.बि.ए. प्रमुख दीपा थापा, अभ्यास शिक्षण प्रमुख लालप्रसाद भट्टराई, उपप्राध्यापक चिजकुमार श्रेष्ठ, सहायक प्राध्यापक अस्मिता घिमिरे आदिकवि भानुभक्त क्याम्पस नेपाल जुनियर रेडक्रस सर्कलका संयोजक सुमन खड्का, आदिकवि सृजनशील मञ्चकी अध्यक्ष लक्ष्मी लोहनी, मञ्चकै निवर्तमान अध्यक्ष सागर पाण्डे लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।
सोही अवसरमा क्याम्पस परिसरभित्र अभोकाडो जातको एक फलको वृक्षरोपण कार्यक्रम पनि सम्पन्न भएको छ। गण्डकी बाङमयका निवर्तमान अध्यक्ष कवि तथा गीतकार सागर उदासले उक्त बिरुवा रोप्नुभएको थियो। फोटो सौजन्य सागर पाण्डे !